Ashmita Shresth
February 9, 2021
पछिल्लो समय राजधानीमा राजनीतिपछि सबैभन्दा चर्चाको विषय रानीपोखरी बनेको छ । यसको पुनर्निर्माणलाई काठमाडौं महानगर, पुनर्निर्माण प्राधिकरण र नेपाल सरकारकै सफलतासँग जोडियो । यसबाटै प्रस्ट छ, पानी र पोखरीको महत्त्व वातावरणका लागि मात्र नभएर समाजमा पनि उत्तिकै छ ।दिनहुँ लाखौंले देख्ने, काठमाडौंको बीचमा अवस्थित रानीपोखरीको संरक्षण गर्न हम्मेहम्मे पर्ने देशमा राजधानीबाहिरका ‘रानीपोखरी’ हरूको अर्थात् सिमसार र दलदलहरूको अवस्था कस्तो होला ? हाम्रा सिमसारहरू बस्ती विस्तार र विकास–निर्माणका नाममा मिचिएका छन् । सिमसार क्षेत्रमा सिमेन्टका संरचना निर्माण गर्ने मानौं होडबाजी चलेको छ ।
केही दशकअघिसम्म कमल फुल्ने काठमाडौंको कमलपोखरी मानव अतिक्रमणले साँघुरिएको छ । त्यसमाथि काठमाडौं महानगर पुनर्निर्माणका क्रममा पोखरीको पानी सुकाई सिमेन्टको कमल–फूल बनाउन लागेको छ । ऐतिहासिक पहिचान नै नासिने गरी भइरहेको पुनर्निर्माणबाट सुरुआती चरणमा स्थानीयवासी पनि खुसी भएजस्तो देखियो । यसले जनस्तरमा सिमसारको महत्त्वसम्बन्धी चेतना नभएको झल्काउँछ । केही अभियन्ताले आवाज उठाएपछि भने स्थानीयवासीले कमलपोखरीको महत्त्व बुझेका छन् र बचाउन लागिपरेका छन् ।
सिमसार संरक्षणमा जनचेतना जगाउन सन् १९७१ मा रामसार महासन्धि गरिएको सम्झनामा हरेक वर्ष फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाउने गरिन्छ । नेपाल भने सन् १९८८ मा मात्र रामसार सन्धिको पक्षराष्ट्र बनेको हो । त्यसयता हरेक वर्ष ‘जनचेतनामूलक’ कार्यक्रम गरी विश्व सिमसार दिवस मनाउँदै आइएको छ । यस पालि ‘सिमसार र पानी’ नाराका साथ उक्त दिवस मनाइयो । तर, सहरकै छेउमा अवस्थित टौ दहमा मानव अतिक्रमणका कारण परिरहेको असरबारे भने सरोकारवालाहरू मौन नै रहे । जबकि टौ दहमा बढ्दो मानवनिर्मित संरचनाका कारण जाडोयामका आगन्तुक चराहरूको संख्या घट्दै गइरहेको छ ।
कमलपोखरी र टौ दह प्रतिनिधि उदाहरण मात्र हुन् । जनस्तरमा सिमसारको महत्त्व र संरक्षणसम्बन्धी चेतना नभएको मौका छोपी सिमसार पुनर्निर्माणको ठेक्का लिएकाहरू कसरी त्यहाँ सिमेन्टको संरचना बनाएर पैसा कमाउने भन्ने धुनमा छन् । त्यस्ता संरचनाका कारण सिमसारमा पानी पुनर्भरण हुन पाउँदैन, जसको प्रत्यक्ष असर त्यहाँ आश्रित जीवजन्तुमा पर्छ । सिमसारहरू लाखौं घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग तथा बोटबिरुवाका लागि निकै महत्त्वपूर्ण बासस्थान हुन् । विश्वका ४० प्रतिशत प्रजाति सिमसारमा बस्छन् र प्रजनन गर्छन् । सिमसार घटेसँगै तिनमा आश्रित जीवजन्तु पनि लोप हुँदै छन्, जसको असर पारिस्थितिक प्रणालीमा परिरहेको छ र यसले वातावरणीय असन्तुलन पनि निम्त्याइरहेको छ ।
सरकारी प्रतिवेदनहरूका अनुसार, बाली विस्तारका कारण नेपालमा सिमसार ५.४१ प्रतिशतले घटेका छन् । र, यिनको गुणस्तर पनि कम भइरहेको छ, जुन मानव तथा जीवजन्तुको अस्तित्वकै लागि खतराको संकेत हो । कतिपय सिमसार पुरानो अवस्थामा फर्काउनै नमिल्ने गरी नाश भैसके भने कतिपय स्थानीयवासीको जागरुकताका कारण पुनःस्थापना भएका पनि छन् । रानीपोखरी, भक्तपुरको भाजुपोखरी र ललितपुरको न्हू पोखरी त्यस्ता केही उदाहरण हुन् ।
सिमसारको दिगो विकास र संरक्षण कसरी गर्ने र के फाइदा छ भन्ने बुझ्न बोलिभिया, ब्राजिल र पाराग्वेमा पर्ने प्यान्तनललाई हेरे पुग्छ । विश्वकै सबैभन्दा ठूलो प्यान्तनल सिमसारमा करोडौं मानिस तथा जीवजन्तु आश्रित छन् । त्यहाँ ‘केइमन’ गोही र ‘ज्यागुअर’ (चितुवाजस्तै) को बाक्लो उपस्थिति छ । यो सिमसार विश्वकै सबैभन्दा ठूलो सुगा ‘ह्यसिन्थ मक’ को बासस्थान पनि हो । यिनै जीवजन्तु अवलोकनका लागि वार्षिक करिब १० करोड पर्यटक त्यहाँ पुग्छन् ।
सिमसारहरूले पानी भण्डारण गरेर पानीबाट फोहोर र रसायन छुट्याइदिन्छन् । सिमसार पर्यावरणीय हिसाबले मात्र हैन सामाजिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण हुन्छन् । जलीय कृषिले सबभन्दा छिटो र धेरै खाद्यान्न उत्पादन गर्ने भएकाले बढ्दो जनसंख्याको माग पूर्ति गर्नसमेत सिमसारको अहम् भूमिका हुन्छ । खोला र तालतलैयामा पौडी खेल्न, डुंगा चढ्न र चरा अवलोकन गर्न सकिन्छ । यसबाट पर्यटन उद्योग फस्टाउँछ । सिमसारहरू विश्वका १ अर्बभन्दा बढी मानिसको आयआर्जनका भरपर्दा माध्यम बनेका छन् ।
जीविकोपार्जनमा सिमसारको महत्त्व कति हुन्छ भन्ने बुझ्न कोशीकै उदाहरण काफी छ । कोशीटप्पु वन्यजन्तु आरक्षमा १२७ प्रजातिका माछा र ५२६ प्रजातिका चरा पाइन्छन् । सप्तकोशीछेउछाउ बसोबास गर्ने अधिकांश मानिसको गुजारा खोलाको माछा बेचेर हुने गर्छ । चराको स्वर्ग मानिने कोशीटप्पुमा साइबेरिया, पाकिस्तान, श्रीलंकाका साथै दक्षिणपूर्व एसियाली देशहरूबाट चराहरू मात्र आउँदैनन्, ती चरा हेर्न विश्वभरबाट पर्यटक पनि आइपुग्छन् ।
नेपालले रामसार महासन्धिमा आबद्ध हुँदै सिमसार संरक्षणका लागि प्रतिबद्धता जनाए पनि जति काम हुनुपर्ने हो, त्यति भएको छैन । सरकारले पानी र सिमसारका विकास योजनाहरू र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ । स्थानीयवासीसँग समन्वय गरी सिमसार संरक्षणका लागि स्पष्ट नीतिनियम बनाउनु जरुरी छ । सिमसारको वैज्ञानिक अनुसन्धान पनि अपेक्षित मात्रामा हुन सकेको छैन । सिमसारबारे समयोचित अध्ययन हुन सके मात्र संरक्षणका तौरतरिका निर्क्योल गर्न सकिन्छ । जंगलभन्दा दुई गुणा बढी कार्बन भण्डार गर्न सक्ने यस्ता दलदल क्षेत्रहरूको संरक्षण नगरे हामीले जलवायु परिवर्तनका गम्भीर असरहरू खेप्दै जानुपर्ने निश्चित छ । सिमसारहरूको संरक्षण हुन सके मात्र प्रकृति र मानिस दुवैको भलो हुन सक्छ ।
Published in Kantipur Link