मानव स्वास्थ्यनिम्ति जोगाऔं लौठसल्ला


Sabitri Rai
July 8, 2020


क्यान्सर उपचारमा आवश्यक कच्चा पदार्थ जुटाउन लौठसल्लाका हाँगा, पात, बोक्रा र जराको संकलन अवैध र अप्राकृतिक किसिमले हुँदै आएकाले यो बहुमूल्य वनस्पतिमाथि संकट छाएको छ ।

ट्याक्सोलले क्यान्सर कोषहरूको विभाजन रोकी शरीरमा क्यान्सर फैलिन दिँदैन । क्यान्सरको उपचारमा ट्याक्सोलको प्रयोग बढी सफल भएका उदाहरणहरू धेरै छन् । त्यसैले यसलाई क्यान्सर उपचारमा रामवाण मानिन्छ ।

यो रसायन सारतत्त्व प्रायः लौठसल्लाका पात, बोक्रा, जरा प्रशोधन गरी निकालिन्छ । यसै कारण ट्याक्सोलसँगै लौठसल्लाको नाम जोडिने गरेको छ ।

लौठसल्ला सदाबहार रूख हो । विश्वभर यसका आठ प्रजाति छन् । तीमध्ये नेपालमा तीन प्रजाति रहेको र ती ट्याक्सस बालिचियाना, ट्याक्सस कन्टोर्टा र ट्याक्सस माइरेई भएको विभिन्न अध्ययनबाट पुष्टि भइसकेको छ (हेर्नुस्— गंगादत्त भट्ट, रामचन्द्र पौडेल, तीर्थराज पाण्डेय र रमेश बस्नेत, ‘नेपालका लौठसल्ला’, सन् २०१७) । प्रायः विश्वभर ट्याक्सोलको कच्चा पदार्थका रूपमा लौठसल्लाका हाँगा, पात, बोक्रा साथै जराहरूको संकलन हुँदै आएको छ, तर अप्राकृतिक तरिकाले । यसरी गरिने संकलनले विश्वव्यापी रूपमै लौठसल्लाका सबै प्रजातिमा नकारात्मक प्रभाव पारेको छ । नेपालमा पाइने प्रजाति पनि यस्तो असरबाट अछुतो रहन सकेका छैनन् ।

ट्याक्सस माइरेई (माइरेई यु) विश्वपरिवेशमा ‘संवेदनशील’ र नेपालमा ‘अति संकटापन्न’ मानिन्छ । अरू दुई प्रजाति विश्व र नेपाल दुवै परिवेशमा ‘संकटापन्न’ मानिन्छन् । तर औषधीय गुणयुक्त यो वनस्पतिप्रति संकटापन्न कुनै जीवलाई झैं पर्याप्त ध्यान दिइएको छैन । त्यसमाथि यसको संरक्षणसम्बन्धी चासो खासै पाइँदैन । यद्यपि सन् २०१८ देखि ग्रिनहुड नेपालले माइरेई यु प्रजातिबारे अनुसन्धान गर्दै आएको छ । त्यसले सन् २०१९ मा गरेको अनुमान अनुसार, प्राकृतिक बासस्थानमा माइरेई यु प्रजातिका परिपक्व रूखहरूको संख्या ५०० भन्दा कम छ । यही परिदृश्य विश्वव्यापी रूपमा पनि देख्न सकिन्छ । माइरेई यु प्रजाति महाभारत क्षेत्रका मात्र तीन जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुली र मकवानपुरमा पाइन्छ । यसलाई तालिसपत्र, बर्मेसल्ला, पातेसल्ला, भीमसेनपाती जस्ता स्थानीय नामहरूले पनि चिनिन्छ ।

अनुसन्धानका क्रममा ग्रिनहुड नेपालले एकातिर लौठसल्लाको अप्राकृतिक संकलन हुने गरेको र अर्कातर्फ दिगो संकलन निर्देशिकाको अभाव रहेको अनुभव गर्‍यो । यी पक्षलाई ध्यानमा राखी यसले ‘लौठसल्लाको दिगो संकलन निर्देशिका’ तयार पार्‍यो, जसलाई आम मानिसमा पुर्‍याउन स्थानीय र राष्ट्रिय स्तरमा विभिन्न छलफल तथा जनचेतना अभिवृद्धि कार्यक्रम गरिँदै आएको छ । लौठसल्ला मानव स्वास्थ्यका लागि बहुमूल्य छ । यसबाट प्रशोधन गरी निकालिने ट्याक्सोलले क्यान्सरजस्तो प्राणघातक रोगलाई नियन्त्रण वा निर्मूल गर्न सक्ने भनी लोकप्रियता कमाएको छ । त्यसै कारण विश्वभर यसको उपयोग र माग उच्च छ । स्तन, पाठेघर, फोक्सो, प्रोस्टेट, अन्ननली, टाउको, छाला लगायतको क्यान्सर नियन्त्रण र उपचारमा ट्याक्सोलको प्रयोग निकै सफल भएको छ ।

मानव स्वास्थ्यका लागि विविध किसिमका क्यान्सरको चुनौती बढेसँगै ट्याक्सोलको मागमा पनि अत्यधिक वृद्धि भइरहेको छ । बढ्दो माग परिपूर्ति गर्नर् लौठसल्लाको अवैध र अप्राकृतिक संकलन, ठूलो परिमाणमा ढुवानी र चोरी–निकासी बढिरहेको छ । धेरै कच्चा पदार्थबाट थोरै सारतत्त्व निस्किने हुँदा यसको सारतत्त्व एकदमै महँगो हुन्छ । केही अनुसन्धान अनुसार, लौठसल्लाको १०,००० किलो बोक्राबाट केवल १ किलो ट्याक्सोल उत्पादन गर्न सकिन्छ । यही कारण ठूलो परिमाणमा कच्चा पदार्थको माग हुने गर्छ । फलस्वरूप लौठसल्लाको रूखैलाई नांगो हुन्जेल लुछ्ने गरिएको छ । यसरी संकलन गर्दा धेरै असर पुगी रूखै सुक्दै गएर मर्ने सम्भावना बढी हुन्छ ।

अर्कातिर, वनबाट लौठसल्लाका हाँगाहरू ल्याई स्थानीय नर्सरीहरूमा सयौंको संख्यामा बेर्ना उत्पादन गर्ने गरिएको छ । माइरेई युको भाले र पोथी रूख भिन्नाभिन्नै हुने गर्छ । दुर्भाग्यवश, प्रजाति र लिंगको पहिचानबिनै बेर्नाको उत्पादन, बिक्री–वितरण र रोपण गर्ने गरिएको छ । स्थानीय स्तरमै पनि लौठसल्ला परम्परागत औषधिका रूपमा प्रयोग गरिने हुँदा वनबाट हाँगा काटेर ल्याई घरमै सुकाइएका दृश्यहरू प्रायः देख्न सकिन्छ । विशेष गरी लौठसल्लाको सुकेको पातको चिया खाँदा स्वास्थ्यलाई राम्रो हुने र क्यान्सर लाग्नबाट बचाउने जस्ता जनविश्वासका कारण स्थानीयवासीहरू केही आफैं खाने, केही इष्टमित्रलाई कोसेलीस्वरूप दिने र केही बेच्ने पनि गर्छन् । लौठसल्लाको काठ धेरै मजबुत हुने भएकाले घरका दलिन र चौकोस बनाउन पनि प्रयोग भइरहेको छ । हाँगाहरू सोत्तरका रूपमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता अवैध गतिविधिका कारण लौठसल्लालाई धेरै हानि पुगिरहेको छ ।

माइरेई यु कम उचाइमा, मानव बस्तीको छेउछाउ बढी पाइन्छ, जसले गर्दा चरीचरन र वनडढेलोबाट समेत यसका बिरुवाहरूलाई निकै नोक्सानी पुग्ने गरेको छ । यस प्रजातिको बीउको पुनरुत्पादन क्षमता अति नै कम हुने भएकाले लोप हुने जोखिम बढिरहेको छ । यस्तै, स्थानीय स्तरमा पहिल्यैदेखि वनबाट यसका बिरुवा उखेलेर ल्याई निजी जग्गा, खेतबारीमा रोप्ने गरेको पाइएको छ । यस्ता क्रियाकलापका कारण प्राकृतिक बासस्थानमा माइरेई युको संख्या घट्दै गइरहेको छ, जुन संवेदनशील विषय हो ।

हामी नेपालीले यस्ता तौरतरिका यथाशीघ्र त्याग्न सकेनौं भने लौठसल्ला निकट भविष्यमा प्राकृतिक बासस्थानबाटै लोप हुने सम्भावना छ । त्यसैले लौठसल्लाको संरक्षणबारे जनचेतनालाई तीव्रता दिनु अत्यावश्यक छ । चोरी–निकासी रोक्न कडा कानुन अपरिहार्य छ । लौठसल्ला स्थानीयवासीहरूको जीविकोपार्जनको राम्रो स्रोत रहेकाले गर्दा पनि यसको संरक्षण अत्यावश्यक छ । यसको व्यावसायिक खेती गरी स्थानीयवासीको आर्थिक स्थिति कसरी सबल र दिगो बनाउन सकिन्छ भन्नेबारे ध्यान दिनु जरुरी छ । लौठसल्ला मानवस्वास्थ्यका लागि बहुमूल्य औषधि रहेकाले यसलाई जोगाउनु हाम्रो पनि परम कर्तव्य हो ।

(मेची क्याम्पसमा शिक्षण सहायकका रूपमा कार्यरत राई ‘ट्याक्सस माइरेई’ को अनुसन्धानमा संलग्न छिन् ।)

Published in Kantipur  link


Continue reading

Registered Office: Balephi 08, Sindhupalchok City Office: New Baneshwor, Kathmandu
45305
Nepal

Telephone: +977-1-5244333

Email: info@greenhood.org

Follow Greenhood Nepal