Reshu Bashyal, Kamal Maden, Kumar Paudel
September 13, 2021
केही वर्षयता वनको सुनाखरी उक्काएर घरमा ल्याउने प्रचलन निक्कै बढेको छ । अझ सामाजिक संजालमा, जंगलबाट अनाधिकृत रुपमा लुछेर ल्याइएका तस्विर गर्वका साथ पोष्ट गर्ने होड नै चलेको छ । यो प्रवृत्तीको निशानामा प्राय आकर्षक फूल फुल्ने जातका सुनाखरी बढि पर्छन् । अनौठो त के छ भने यस्तो काममा आफुलाई सुनाखरीको मायाँ गर्ने ‘अर्किड लबर्स’ भन्न रुचाउने नै अग्रपंत्तीमा छन् । यो पुस्ता राम्रो कुरा आफ्नो घर र स्वामत्विमा राख्न निकै हुटहुटिमा भए झैँ देखिन्छ तर, प्रकृतिमा रमाइरहेको वनस्पतिलाई उसको वासस्थानबाट छुटाएर हामी आफ्नो कस्तो “प्रकृतिप्रेमी” साख जोगाउन खोज्दैछौ भन्ने कुरा भने बुझि नसक्नु छ ।
सामाजिक संजालमा छ्यापछ्याप्ती भएका तस्बीरहरु हेर्दा, सुनाखरी सिकारमा आम समुदायमात्र नभई पत्रकार, अध्ययनकर्मी र सरकारी अधिकारीहरु समेत सामेल देखिन्छन् । चामलको बोरामा तथा ठूला प्लाष्टिकको झोलामा जथाभाबी संकलन गरिएका तस्बीरहरुले कति निर्मम र अबैज्ञानिक ढङ्गबाट सुनाखरीहरु संकलन भइरहेको छ भन्ने देखाउँछ । कतिपय ठाउँमा सुनाखरी भएका रुख नै ढालेर समेत संकलन गरीएका छन । संकलकले दुर्लभ प्रजातिका वनस्पति संकलन गर्न सफल भएको भनेर गर्वका साथ खुलाउने पनि गरेका छन् । यसरी विभिन्न बहानामा भएरहेको गैरकानुनी सुनाखरी सिकार र यसको प्रभावबारे सोच्न ढिला भइसकेको छ ।
नेपालका सुनाखरीहरु अधिकांश दुर्लभ र रैथाने किसीमका छन् । सिमित क्षेत्रमा न्यून सङ्ख्यामा रहेका प्रजाति अनाधिकृत संकलनले त्यस्ता प्रजातीको अस्तीत्व नै संकटमा आउँछ । जथाभावी संकलन गरीएका सुनाखरी अर्कै ठाउँमा सार्दा सर्ने संभावना निकै कम हुन्छ । हिमालाय क्षेत्रका लामो समय सुनाखरी अध्ययन अनुसन्धानमा बिताएका डा. भक्तबहादुर रास्कोटी पनि यहि कुरा औंलाउँछन् ।
नेपालको कानुनले अनाधिकृत सुनखरी संकलनलार्य बर्जित गरेको छ । सुनाखरी सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका अन्तराष्ट्रिय व्यापार सम्बन्धि महासिन्ध (साईटिस) को अनुसूस्चि १ र २ मा पर्छन । नेपालमा अहिलेसम्म करिब ५ सय प्रजातिहरु पहिचान भएका छन् । नेपालको कानुनले अनाधिकृत सुनाखरी संकलनलाई बर्जीत गरेको छ । सबैे सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन र नियमले सम्बन्धीत निकाय वन तथा भू–संरक्षण विभागको अनुमती बिना हुने सङ्कटापन्न वनस्पति संकलन, ओसारपसार, ब्यापार र प्रयोग दण्डित अपराध मानेको छ । यसको कसुर गर्नेलाई ५ वर्षसम्म कैद वा ५ लाख रुपैँयासम्म जरिवाना वा दुबै सजाय सजाय हुने प्रावधान छ ।
वन तथा भू–संरक्षण विभागबाट अनुमती नै लिएर सुनाखरी संकलन गर्दा समेत धेरै कुरामा ध्यान दिन जरुरी हुन्छ । सव्रप्रथम, संकलन गरिने प्रजाति दुर्लभ हो वा होइन पहिचान गरिनु पर्छ । दुर्लभ भए भरसक नमुना संकलन गर्नै हुँदैन । संकलन गर्नै पर्ने भए, कता पट्टिको भाग संकलन गर्दा त्यसलाई असर पर्दैन बिचार प¥ुयाउनु पर्छ । सकेसम्म एउटा मात्र नमुना लिनु पर्छ । कुनै सुनाखरी सम्बन्धित ठाउँको इन्डेमिक अर्थात रैथाने हुन सक्छ । रैथाने भए त्यसलाई विशेष रुपमा जोहो गर्नु पर्छ ।
सुनाखरीको राजधानी मानिे गण्डकी प्रदेशमा पिनालिया अन्नपुर्नेन्सिस्, पिनालिया पोखरेन्सिस्, नियोटिआ नेपालेन्सिस्, ओडोन्टोचिलस नन्देयी, ओरेओकिस पोर्पिm¥यान्थस वैज्ञानिक नाम पाएका रैथाने सुनाखरी छन् ।
त्यसैले, संकलन कर्ताले कुन प्रजाती दुर्लभ वा रैथाने हो भन्ने हेक्का नराखी जताभावी संकलन गर्नु गलत हुन्छ । अर्कोतिर, संकलन गरेर सामाजिक संजालमा यस्ता तस्विर पोष्ट गर्दा आम समुदायमा सुनाखरी यसरी नै संकलन गर्न हुँदो रहेछ भन्ने गलत सन्देश समेत जान्छ ।
वन तथा भू–संरक्षण विभाग काठमाडौंले साईटिसको अनुसूचिमा रहेका सुनाखरीको संकलन अनुमती यसैको साईटिस ब्यवस्थापन अधिकारीका परामर्शबाट दिने प्रावधान छ । पछिल्लो समयमा सुनाखरी संकलन तथा ब्यापार अनुमती कसैलाई पनि नदिएको सो बिभागले जनाएको छ । यसको अर्थ, जो जसले गरेका भए पनि हाल भइरहेका सबै सुनाखरी संकलन अबैध र कानुनत दण्डित अपराध हुन् ।
हिजोआज सामाजिक संजालमा तस्विर खिचेर फलानो ठाउँ, फलानो वनको, फलानो पाखाको विवरण सहित जंगली फूल लगाएतको पोष्ट गर्ने चलन पनि ह्वात्तै बढेको छ । त्यस्ता पोष्टबाट उक्त वनस्पती कहाँनेरको हो भन्ने सजिलै पत्तो लाग्छ । आसपासका सामाजिक संजाल उपयोगकर्ता यस्ता पोष्टको आधारमा उक्त फूल भए ठाउँ पुग्न सक्छन् । आम रुपमा ती वनस्पतीहरु दुर्लभ वा रैथाने भन्ने जानकारी हुन्न । यसरी त्यस्ता गतिबिधीले प्रजातिको अस्तित्वमै असर पुग्छ ।
प्रतिदिन लाखौंको संख्यामा प्रयोगकर्ता बढेसंगै सङ्कटापन्न जैविक विविधता संरक्षणमा सामाजिक संजालको भूमिका के कस्तो हुने भन्ने बारे चर्चा विश्वभर हुन थालेको छ । केहि अध्ययन अनुसन्धानले सामाजिक संजालले आम समुदायमा जनचेतना जगाई संरक्षणका निम्ति सकारात्मक भूमिका पु¥याउँछ भन्ने कुरा देखाएता पनि हाम्रो जस्तो देशमा यसको प्रभाव कस्तो हुन्छ भन्ने एकिन छैन । तर, सामाजिक संजालमा देखिएको कुरालाई नियाल्दा यसले गैरकानुनी संकलक र कारोबारीलाई समेत सघाउ पुग्ने देखिन्छ ।
नेपाल जस्तो मुलुक जहाँ संरक्षणको केन्द्रमा बाघ, हात्ती, गैंडा, अर्ना लगायतका जनावरमा मात्र बढी पर्ने सरकारी निकायसँग सबै वनस्पतीका बारेमा विस्तृत जानकारी नहुन सक्छ । साथै, सबै वनस्पती प्रजातीको संरक्षण योजना पनि बन्न सकेको छैन । यद्यपी, सुनाखरीे नेपालको अमुल्य निधी हो यसको संरक्षणमा सजक हुनु हरेका नागरीकको कर्तब्य हुन्छ । सरकारका सम्बन्धित निकायलाई आवश्यक निती नियम बनाउन, कानुनको कार्यान्वयन गर्न र अधिकारको दुरुपयोग भएको भए कारवाही गर्न आम नागरीकले खबरदारी गर्न जरुरी छ ।
हामीकहाँ अक्सर सरकारलाई मात्र दोष लगाएर उम्कन प्रवृति छ । हामी पनि उत्तिकै जिम्मेवार छौ । अब अर्को पटक जंगलमा भएका सुनाखरीे वा अन्य कुनै वनस्पती देख्दा त्यसलाई लुछ्नु अघि र फलानो ठाउँबाट ल्याए भनेर गर्व गर्दै सामाजिक संजालमा सुनाउनु अघि एकपटक यसले सम्बन्धित प्रजातिलाई के कस्तो असर पर्छ, सोचौं । हाम्रोे लापरवाही र लालसाले कुनै एक प्रजाती संसारबाट लोप हुन सक्छ ।
Originally published in Naya Patrika